डडेल्धुरा –विपी कांग्रेसमा आवद्ध भएका कर्णबहादुर मल्लसहितका नेताहरुलाई पार्टीमा फर्किन नेपाली कांग्रेस डडेल्धुराले आग्रह गरेको छ ।
सातौं जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति कर्णबहादुर मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन आग्रह गरिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । जिल्ला सभापति भीमबहादुर साउदले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार नैनसिंह महर र नेपाली कांग्रेसलाई विजयी गराउन ती सबै नेतालाई सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् ।
कांग्रेसको सातौं अधिवेशनमा सहभागी नभएका यी सबै नेताहरु हाल नेपाली कांग्रेस विपीमा सक्रिय रहेका छन् । उनीहरु जिल्ला अधिवेशनमा आफूहरुलाई बाइपास गरेको भन्दै कार्यकर्तासहित नेपाली कांग्रेस(विपी) मा गएका थिए ।
फागुन २१ गतेको प्रतिनिधि सदस्य निर्वाचनमा सक्रियता पूर्वक सहभागी भई कांग्रेसलाई समर्थन गर्न आह्वान समेत गरिएको छ ।
नेपाली कांग्रेसले स्वतन्त्रता, समानता, लोकतन्त्र, संविधान र अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षाका लागि सबै लोकतान्त्रिक शक्तिहरूसँग एकता कायम गर्न खुला छलफलको पहल गरेको जनाएको छ । पार्टीले आफ्ना सबै नेता, कार्यकर्ता र सदस्यलाई पनि साझा रणनीतिमा गोलबद्ध हुन सार्वजनिक अपिल गरेको छ ।




