Sagun Khabar
कर्ण मल्लसहितका नेताहरू कांग्रेसमा फर्किन तयार, एकता अघि बढाउन आग्रह

डडेल्धुरा –बीपी कांग्रेस डडेल्धुराले पार्टी एकताको प्रक्रिया अगाडि बढाउन नेपाली कांग्रेसलाई आग्रह गरेको छ । कांग्रेस डडेल्धुरा र केन्द्रीय समितिलाई पार्टी एकताका लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन बीपी कांग्रेसले आग्रह गरेको हो ।

नेपाली कांग्रेस डडेल्धुराले बीपी कांग्रेसका उपसभापति कर्णबहादुर मल्लसहितका नेतालाई पार्टीमा फर्किन गरेको आह्वानको भोलिपल्ट बीपी कांग्रेसले यस्तो बताएको हो ।

सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका र हाल बीपी कांग्रेसमा संगठित साथीहरूलाई केन्द्रीय समितिको निर्णयसमेतलाई दृष्टिगत गरेर पार्टीमा जोडिन गरिएको आह्वानलाई हाम्रो पार्टीले सकरात्मक रूपमा लिएको छ,’ बीपी कांग्रेस डडेल्धुराका सभापति भरत नेपालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस डडेल्धुराको सातौँ जिल्ला अधिवेशनदेखि हाम्रा नेता साथीहरूसहित हामी सम्पूर्ण बीपी कांग्रेसमा आबद्ध साथीहरू यो अवस्थामा पुग्दासम्मको राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको वर्तमान नेतृत्व पूर्ण रूपमा जानकार रहेको पुनः स्मरण गराउन चाहन्छौँ । उक्त आह्वानअनुसार पार्टी एकताका लागि आवश्यक छलफल र प्रक्रिया अघि बढाउन नेपाली कांग्रेस डडेल्धुरा र सो पार्टीको केन्द्रीय समितिलाई हार्दिक अनुरोध गर्दछौँ ।’

आइतबार नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले विज्ञप्ति जारी गर्दै पार्टीमा फर्केर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार नैनसिंह महरलाई जिताउने अभियानमा लाग्न आह्वान गरेका थिए । जिल्ला अधिवेशनमा सहभागी हुन नसकेका तत्कालीन पार्टी सभापति मल्ल, उपसभापति करुणाकर भट्ट, नेता हरिप्रसाद भट्ट र भरत नेपाली लगायत सबै नेता तथा क्रियाशील सदस्यलाई नेपाली कांग्रेसमा फर्किएर सक्रिय योगदान दिन साउँदले आह्वान गरेका थिए । 

जिल्ला अधिवेशनमा बाहिर राखिएको भन्दै मल्लसहितका नेताहरू बीपी कांग्रेसमा गएका थिए । बीपी कांग्रेसबाटै मल्ल २०७९ सालमा पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवाविरुद्ध निर्वाचन लड्दै तेस्रो भएका थिए । आसन्न निर्वाचनमा भने बीपी कांग्रेसले डडेल्धुरामा उम्मेदवार उठाएको छैन ।
 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update