बैतडी–भारतमा गाडीको ठक्करबाट घाइते भएका बैतडीका लोक देउडा गायक प्रेम कोलीको उपचारका क्रममा निधन भएको छ ।
पाटन नगरपालिका–३ गुजर घर भएका कोली रोजगारीको सिलसिलामा परिवारसहित भारतको गोविन्दगढमा बस्दै आएका थिए ।
गोविन्दगढमै फलफूल पसल सञ्चालन गर्दै आएका कोलीलाई गएको कार्तिक २२ गते लक्ष्मी पूजाका दिन अज्ञात गाडीले ठक्कर दिएको थियो । पसलको काम सकेर स्कुटरमा कोठा फर्कदै गरेका कोलीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए ।
भारतको गोविन्दगढस्थित राजेन्द्र अस्पतालमा उपचार गराइरहेका कोलीको शुक्रबार राति उपचारकै क्रममा निधन भएको उनका दाजु रमेश कोलीले बताए । अन्दाजी ४३ बर्षीय कोलीको अल्पायुमै निधन भएपछि परिवारमा ब्रजपात परेको छ ।
मृतक कोलीका चारजना छोराछोरी र श्रीमती रहेका छन् । भारतमै रोजगारी गरेर घरपरिवार चलाउँदै आएका कोलीको निधन भएपछि उनको परिवार विचल्लीमा परेको छ ।
कोली घाइते भएकै समयदेखि उनको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको थियो । उनको निधन भएपछि आश्रित परिवारको सहयोगका लागि अभियानलाई निरन्तरता दिइएको समाजसेवी प्रेमसिंह भाटले बताए ।
कोलीको असमायिक निधनले उनको गाउँ शोकमा डुबेको छ । लोक देउडामार्फत स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै आएको कोलीको निधनले सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकर्मीहरुले बताएका छन् ।




