बैतडी–जिल्ला अस्पताल बैतडीको स्तरोन्नतिको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।
अस्पताल स्तरोन्नतिका लागि स्थानीय प्रशासनका तर्फबाट चाल्न सकिने पहलकदमी गरिदिन माग गर्दै अस्पताल व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी मीना अर्याललाई ज्ञापन पत्र बुझाएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)ले ९ बुँदे ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाएको जानकारी दिए । ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु सात दिनभित्र पूरा गर्नका लागि पहल चाल्न अनुरोध गरिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा जिल्ला अस्पतालको स्तरोन्नति र क्षमता विकास, बिशेषज्ञ चिकित्सकको दरबन्दी सिर्जना र पदपूर्ती, गेटा मेडिकल कलेजसँग संस्थागत सहकार्य र सम्झौता, आधुनिक स्वास्थ्य उपकरण र भौतिक पूर्वाधारको व्यवस्था, स्वास्थ्यकर्मीको क्षमता र दक्षता अभिवृद्धि, टेलिमेडिसिन तथा बिशेषज्ञ परामर्श सेवा सञ्चालन, करार कर्मचारीको तलब भत्ता व्यवस्थापन, नियमित अनुगमन लगायतका कुराहरु समेटिएका छन् ।
जिल्ला अस्पताल बैतडीमा ५० शैय्या सञ्चालन गर्न सकिने भौतिक संरचना भएपनि प्रदेश सरकारले ध्यान नदिँदा १५ शैय्यामै सीमित रहेको अध्यक्ष क्षेत्रीले बताए ।
यसअघि अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, पूर्व मुख्यमन्त्री लगायतका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र बुझाइएको थियो ।
अस्पतालको स्तरोन्नतिका लागि सम्बन्धित निकायबाट पहल नभएपछि संघर्षका कार्यक्रम अघि बढाइने अध्यक्ष क्षेत्रीले बताए ।




