बाजुरा –सरकारले बाजुराका पाँच स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।
नयाँ सरकार बनेसँगै रिक्त रहेका तीन गाउँपालिका र दुई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले लामो समयदेखि रिक्त रहेर निमित्तको भरमा सञ्चालन भइरहेका पालिकामा प्रशासनिक कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएकी हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको यहीँ चैत १६ गतेको निर्णयअनुसार बुढीगंगा नगरपालिकामा उपसचिव भोजबहादुर ऐडी र बुढीनन्दा नगरपालिकामा विनोद कुमार पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा रुपमा खटाएको छ ।
यस्तै गएको बिहीबारको निर्णय अनुुसार त्रिवेणी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत टेकबहादुर मौनीलाई मन्त्रालयले खप्तड छेडेदह गाउँपालिकामा खटाएको छ । यस्तै जगन्नाथ गाउँपालिकामा हेमन्त चुनारा र स्वामीकार्तिक खापर गाउँपालिकामा रमेशसिंह भण्डारीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएका स्थानीय तहहरु मध्ये अधिकांश पालिकाहरु निमित्तका भरमा चल्दै आएका थिए । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै ति पालिकाहरुमा सेवा प्रवाहसँगै प्रशासनिक कामकाज थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।





