Sagun Khabar
बैतडीका गाउँ घरमा बिरामी बोक्न स्टेचरकै भर

बैतडी - बैतडीका अधिकांश गाउँघरमा मान्छे बिरामी हुदा स्टेचरको भर पर्नु पर्ने बाध्यता रहेको छ । जिल्लाका धेरै जसो गाउँ बस्तीमा सडक बिस्तारको काम नहुदा स्थानीय नागरिकले सास्ती खेप्नु परेको स्थानीयले बताएका छन ।

स्थानीयहरुका अनुसार गाउँ बस्तीका छेउछाउमा कच्ची सडक बिस्तार भैरहेका भएपनी वर्षाको समयमा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका बताइएको छ । गाउँ गाउँमा सडक पुगेको दाबी गरिए पनि ती सडक सञ्चालनमा आउन नसक्दा स्थानीय नागरिकले चरम सास्ती भोग्नुपर्ने अवस्था रहेको सिगास गाउँपालिकाका स्थानीय युवा पुरुषोत्तम अवस्थीले बताए । बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये विशेष गरी दुर्गम मानिने र कच्ची सडकको भरमा रहेका क्षेत्रहरूमा यो समस्या भयावह रहेको छ ।

जिल्लाको सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका , सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश ग्रामीण क्षेत्रमा बिरामी बोक्न पुर्ण रुपमा स्टेचरकै भर पर्नु पर्ने अवस्थामा रहेका छन । यस्तै जिल्लाका सुगम मानिने स्थानीयतहहरुमा समेत यो समस्या कायमै रहेको स्थानीय शिक्षक आदर्श कोलिले बताए ।  दोगडाकेदार गाउँपालिका , दशरथचन्द नगरपालिका , पाटन नगरपालिका र मेलौली नगरपालिका अधिकांस गाउँबस्तीमा समेत स्थानीय नागरिक बिरामी बोक्न आंशिक रुपमा स्टेचरकै भर पर्नु पर्ने अवस्थामा रहेका छन ।

stechar-btd-Gobind-pant-pic-2-1791642721.jpeg
 

जिल्लाको सिगासका गाउँपालिकाका अधिकांश वडाहरुका बस्ति, सिन्याखेत, कोटेली, ढोकासन, गाँजरी, ढुङ्गाड सहित आसपासका गाउँबस्ति सडक सञ्जालबाट निकै टाढा छन्। गाउँसम्म पुगेका कच्ची ट्रयाकहरू पनि वर्षा सुरु हुनेबित्तिकै हिलाम्मे भएर बन्द हुने गरेका स्थानीय अवस्थीले बताए ।  यहाँका स्थानीयले बिरामी, गर्भवती तथा वृद्धवृद्धालाई स्टेचरमा बोकेर मुख्य सडकसम्म पुर्‍याउनुपर्ने बाध्यता रहेको छ। पुर्चौडी नगरपालिकाका दुर्गम वडाहरुका गाउँबस्ती कोटिला, भटाना, पहरुवालगायतका क्षेत्रमा सडक पुगे पनि नियमित रुपमा संचालन हुन नसकेका स्थानीयहरुले बताएका छन ।

यस्तै पाटन नगरपालिकाका अधिकांश गाउँबस्तीमा सडक नपुग्दा बिरामीलाई स्थानीय युवादस्ता मिलेर स्टेचर वा काँधमा बोकेर मुख्य सडक सम्म पुर्‍याउनु पर्ने बाध्यता रहेको स्थानीयहरुले बताएका छन । यस्तै डिलासैनी र दोगडाकेदार गाउँपालिकाका भित्री बस्ती, डिलासैनीको धामीगाउँ, सिमार तथा दोगडाकेदारका न्वादेव, रिम जस्ता ग्रामीण भेगका नागरिकले बिरामी बोक्न अझै स्टेचरकै सहारा लिनु परेको स्थानीयको गुनासो रहेको छ । तल्लोस्वराड क्षेत्र मानिने पञ्चेश्वर र शिवनाथका कतिपय सीमावर्ती बस्तीबाट स्वास्थ्य संस्था पुग्न घण्टौँको पैदल यात्रा र स्टेचरको प्रयोग अनिवार्य जस्तै रहेको बताइएको छ ।

stechar-btd-Gobind-pant-pic-3-1791642769.jpeg
 

बैतडीका अधिकांस ग्रामीण क्षेत्रमा सडक छ, तर सञ्चालनमा छैन । सडक दुर्गम र अवरुद्ध भएकै कारण स्थानीय तह वा रेडक्रसका एम्बुलेन्सहरू गाउँसम्म पुग्न सक्दैनन्। जसले गर्दा समयमै उपचार नपाएर विशेष गरी सुत्केरी महिला र गम्भीर प्रकृतिका बिरामीको अकालमै ज्यान जाने जोखिम बढेको छ।स्टेचरमा बिरामी बोकेर हिँड्ने गोरेटो बाटोसमेत जोखिमपूर्ण हुने गरेकाले , रातको समयमा बिरामी पर्दा अवस्था झनै कष्टकर बन्ने गरेको स्थानीयले बताएका छन ।

 


 

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  २०:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update