Sagun Khabar
काभा महिला भलिबल च्याम्पियनसिप  : कीर्गिस्तान विरुद्ध नेपाल सोझो सेटमा विजयी

काठमाण्डौं –घरेलु टोली नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको समूह ए को खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै सेमिफाइनल सम्भावना कायम राखेको छ ।

नेपालले कीर्गिस्तानलाई २५–१८, २५–२०, २५–१३ ले पराजित गरेको हो । नेपालका लागि मिडल ब्लकर सुमित्रा रेग्मीले सर्वाधिक १९ अंक जोडिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।

जितपछि नेपालले २ खेलबाट ४ अंक जोड्दै समूह ए मा दोस्रो स्थानमा उक्लेको छ र सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

नेपाल पहिलो खेलमा भारतसँग ३–२ ले पराजित हुँदा १ अंक जोडेको थियो । कीर्गिस्तानको भने यो पहिलो हार हो । कीर्गिस्तानको २ खेलबाट ३ अंक छ ।

अब नेपालले समूहको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपालले माल्दिभ्सलाई पराजित गरेमा सेमिफाइनल पुग्नेछ ।

कीर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ ।
 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update