बैतडी–बैतडीमा हावाहुरीसहित परेको असिनापानीले तरकारी तथा अन्नबालीमा क्षति व्यापक क्षति पु¥याएको छ ।
विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा बेमौसमी तरकारी खेती तथा उम्रिन लागेका मकै, भटमासलगायत अन्नबालीमा मंगलबार दिउँसो परेको असिनाले ठुलो क्षति गरेको स्थानीयहरुले बताएका छन् ।
मेलौली नगरपालिका–१, ४, ५, ६ र ७ नम्बर वडामा बढी क्षति भएको वडा नं. १ का अध्यक्ष शरदसिंह नेगीले बताए ।
केही दिनमै गोड्ने तयारीमा रहेको मकै तथा फल्न लागेका टमाटरका बिरुवा असिनाले नष्ट गरिदिएको स्थानीय किसान चिन्तामणि भट्टले जानकारी दिए । धेरै मेहनत र लगानी गरेर लगाइएको मकैबाली असिनाले सखाप पारेपछि वर्षभरि मानिस र पशुचौपायालाई पुग्ने खेतीबालीमा ठुलो क्षति पुगेको किसान सुनिता दयालले बताइन् ।
मेलौली नगरपालिकाका अधिकांश क्षेत्रमा किसानहरूले लगाएको तरकारीका ब्याड, मकै, भटमास, खुर्सानी, भन्टालगायत बालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।





