बैतडी–बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरिमोहन भण्डारीले असिनापानीले क्षति व्यहोरेका बैतडीका किसानहरुलाई क्षतिपूर्ती दिन माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भण्डारीले मंगलबार परेको असिनापानीले बैतडीको मेलौलीमा व्यापक क्षति पुर्याएकाले किसानहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । अहिलेसम्मकै ठूलो असिनापानीका कारण किसानहरुले क्षति व्यहोरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
यस्तै बैतडीका विभिन्न स्थानमा पहिरोका कारण बस्तीहरु नै जोखिममा रहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने सांसद भण्डारीले बताए । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बैतडीको डिलाशैनी, दोगडाकेदार, पुर्चौंडी, पञ्चेश्वर लगायतका क्षेत्रमा पहिरोको जोखिम रहेको बताए । कतिपय ठाउँमा पहिरोका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकाले सरकारको ध्यान जानुपर्ने उनले बताए ।





