बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्न थालेको छ । हरेक महिना कर्मचारीहरुको कार्यसम्पादनको आधारमा एकजनालाई ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गरेर सम्मान गर्ने कार्यको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए ।
गएको वैशाख महिनाको कार्यसम्पादनका आधारमा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गरिमा भट्टलाई ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । कार्यालयले अबदेखि हरेक महिना उत्कृष्ट कर्मचारी घोषणा गरेर सम्मान गर्ने उनले बताए ।
उत्कृष्ट कर्मचारी घोषणा भएकी भट्टलाई कार्यालयकातर्फबाट खादा लगाएर सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखिएको फोटो कार्यालयमा राखिएको छ । कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने कार्यको शुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
यस्तै जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको बैठकले कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरुलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने बिषयमा समेत छलफल गरेको छ ।





