बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउन आग्रह गरेको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण भएको जानकारी प्राप्त भएकाले अतिक्रमण हटाउन आग्रह गरेको हो ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्रको सरकारी तथा सार्वजनिक जमीनमा अतिक्रमण गरेको पाइएमा त्यस्तो अतिक्रमण हटाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार १५ दिन अतिक्रमित क्षेत्र खाली गर्न आग्रह गरिएको नगर प्रमुख दिपकबहादुर बमले बताए ।
सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण पहिचान गरि अतिक्रमित क्षेत्र खाली गराउने कार्य यथाशीघ्र सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । सार्वजनिक तथा सरकारी जमीनमा बसोबास गरिरहेका, व्यवसाय सञ्चालन गरिरहेकाहरुसँग केही सरकारी प्रमाण भए सक्कलै प्रमाण १५ दिनभित्र बुझाउन आग्रह गरिएको नगर प्रमुख बमले बताए ।





