बैतडी – गणतन्त्र दिवसको अवसरमा बैतडीको पाटन नगरपालिका–६ स्थित सङौडाकोट दरबार क्षेत्रमा सरसफाइ गरिएको छ ।
पाटन नगरपालिकाको आयोजना र स्थानीय क्लबहरुसँगको सहयोगमा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको सङौडाकोट दरबार क्षेत्रमा गणतन्त्र दिवसको अवसर पारेर आज सरसफाइ गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । सरसफाइपछि उक्त क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा समेत राखिएको उनले बताए ।
बाइसे–चौबिसे राज्य सञ्चालन भएका बेला उक्त दरबारबाट दिप चन्द र खिप चन्द राजाले शासन गरेको इतिहास रही आएको छ । ऐतिहासिक सङौडाकोट दरबारको प्रचारप्रसार र संरक्षणका लागि गणतन्त्र दिवसको अवसरमा कार्यक्रम गरिएको उपप्रमुख बोहराले बताए ।
उक्त कार्यक्रममा पूर्व मन्त्री दामोदर भण्डारी, कञ्चनपुर जिल्ला अदालतका न्यायधिश राजेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।
सङौडाकोट दरबार क्षेत्रमा सरसफाइ पछि आयोजना गरिएको कार्यक्रममा बोल्दै पूर्व मन्त्री दामोदर भण्डारीले कोटको बिषयमा अनुसन्धान आवश्यक रहेको र यसमा आफूले सक्दो सहयोग गर्ने बताए । कोट क्षेत्रमा गुफा समेत रहेको र यसको छुट्टै महत्व रहेको उनले बताए ।
सोही कार्यक्रममा बोल्दै कञ्चनपुरका जिल्ला अदालतका न्यायधिश एवं उदयदेव दर्शन पुस्तकका लेखक राजेन्द्र भण्डारीले यो क्षेत्रको बिषयमा थप खोज र अनुसन्धानमा ध्यान दिनुपर्ने बताए ।
पाटन नगरपालिकाका उपप्रमुख बोहराले सङौडाकोट दरबारको अध्ययन र अनुसन्धानका लागि नगर सरकारले पहल गर्ने बताए ।
गणतन्त्र दिवसकै अवसरमा आज साँझ पाटन बजार दीप प्रज्वलनको कार्यक्रम रहेको पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष सन्तोष जोशीले बताए ।





