बैतडी –नेकपा एमालेले बैतडीसहित सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा इञ्चार्ज तोकेको छ ।
पार्टीले संगठन सुदृढीकरण, जनपरिचालन तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन विभिन्न जिल्लाका लागि जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ ।
एमालेले बैतडीमा इञ्चार्जको जिम्मेवारी लिलाधर भट्टलाई दिएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका भट्टलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो ।
यस्तै दार्चुलामा गणेशसिंह ठगुन्ना, डडेल्धुरामा पठानसिंह बोहरा, बझाङमा अफिलाल ओखेडा, डोटीमा चक्रबहादुर मल्ल, अछाममा झपटबहादुर बोहरा र बाजुरामा लालबहादुर थापालाई इञ्चार्जको जिम्मेवारी दिएको एमालेले जनाएको छ ।
यस्तै कैलाली इञ्चार्जमा कमलाकुमारी ओली र कञ्चनपुरको इञ्चार्जमा कृपाराम रानालाई तोकिएको एमालेले जनाएको छ ।
पार्टीले जिल्लागत संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ । नव नियुक्त इन्चार्जहरूले सम्बन्धित जिल्लामा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा राजनीतिक गतिविधिको समन्वय गर्ने बताइएको छ ।





