बैतडी –बैतडीका १० ओटै स्थानीय तहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पालिका समिति गठन गरेको छ ।
केन्द्रीय समितिको निर्देशन अनुसार जिल्लाका १० ओटै स्थानीय तहमा पार्टीको पालिका समिति गठन गरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री एवं केन्द्रीय प्रतिनिधि भोजराज जोशी (क्वालिटी)ले बताए ।
नगरपालिकामा १५ सदस्यीय र गाउँपालिकामा ११ सदस्यीय समितिहरु गठन गरिएको रास्वपाका युवा नेता विशाल भट्टले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधि जोशीका अनुसार दशरथचन्द नगरपालिकामा दशरथचन्द नगरपालिकामा बिरादत्त पन्त, पाटन नगरपालिकामा तिलक चन्द, पुर्चौंडी नगरपालिकामा रामसिंह साउँद र मेलौली नगरपालिकामा महेन्द्र भट्ट सभापति रहने गरेर नगर समिति गठन गरिएको छ ।
यस्तै सुर्नया गाउँपालिकामा हरजित बिष्ट, दोगडाकेदार गाउँपालिकामा नैनसिंह कार्की, डिलाशैनी गाउँपालिकामा करन बोहरा, सिगास गाउँपालिकामा सूर्यबहादुर बोहरा, शिवनाथ गाउँपालिकामा मोहनसिंह साउँद र पञ्चेश्वर गाउँपालिकामा बिरबहादुर चन्द सभापति रहने गरेर समिति गठन गरिएको युवा नेता भट्टले बताए ।
पालिकाहरुमा नयाँ समिति गठन गरिएसँगै संगठन विस्तारको अभियानलाई तीव्रता दिने केन्द्रीय प्रतिनिधि जोशीले बताए ।





