बैतडी –बैतडीको पाटन नगरपालिकामा धमाधम पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिँदैछ । नगरपालिकाका १० ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
वडाभरीका जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त भएको सुनिश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको छ ।
पाटन नगरपालिकाको वडा नं २, ४, ६ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
पाटन नगरपालिका वडा नं ६ लाई केही दिन पहिला पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताए । वडाभरीका खोप पाउनुपर्ने उमेरका २ सय ९८ जना बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो ।
यस्तै पाटन नगरपालिका–९ लाई मंगलबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चित वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको आधारभूत स्वास्थ्य केन्द्र टकरेका प्रमुख प्रकाश भट्टले बताए ।
यस्तै पाटन नगरपालिका वडा नं ४ लाई पनि आज एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विकले बताए ।
यस्तै पाटन नगरपालिका–२ लाई सोमबार पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
पौष–माघदेखि घरधुरी सर्वेक्षण गरेर पूर्ण खोप अभियान सञ्चालन गर्ने गरिएको महराले बताए ।





