Sagun Khabar
विद्युत उपभोग नगरिकनै महसुल तिर्दै दोराबासी 
फोटो : सुर्नया–८ मा अलपत्र फालिएको विद्युत सामग्री

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–८ दोराका स्थानीयहरुले विद्युत उपभोग नगरिकनै गएको दुई बर्षदेखि विद्युत महसुल तिर्दै आएका छन् । 

आर्थिक बर्ष २०८०÷८१ मा वडा कार्यालयले अनुदानमा स्थानीयहरुलाई विद्युत मिटर उपलब्ध गराएको थियो । विद्युत विस्तारको काम चलिरहेकाले वडा कार्यालय अनुदानमा मिटर उपलब्ध गराएको वडा अध्यक्ष भानबहादुर बोहराले बताए । 

तर विद्युत विस्तारको काम समयमा नभएपछि दोरा गाउँका ५१ घरधुरीले विद्युत नबालीकनै महसुल तिर्नुपर्ने बाध्यता रही आएको स्थानीय लोकेन्द्रबहादुर महराले बताए । 
वडा कार्यालयले ढोले र दोरा टोलका लागि ३ सय २२ घरधुरीमा अनुदानमा विद्युत मिटर उपलब्ध गराएको थियो । ती मध्ये दोराका ५१ घरधुरीमा विद्युत विस्तार नहुँदा समस्या भएको वडा अध्यक्ष बोहराले बताए । 

बैतडीका विभिन्न स्थानमा विद्युत विकास परियोजनामार्फत विद्युत विस्तारको काम भइरहेको छ । सुर्नयाको दोरा क्षेत्रमा पनि परियोजनामार्फत नै विद्युत विस्तारको काम भइरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधवप्रसाद लेखकले बताए । 

परियोजनाले ठेकेदारमार्फत काम गरिरहेको जनाइएको छ । उक्त परियोजनाले समयमै विद्युत विस्तार नगर्दा उपभोक्ता मारमा परेका छन् । 

गाउँमा विद्युत विस्तारका सामग्री अलपत्र छाडिएको स्थानीय लोकेन्द्रबहादुर महराले बताए । विद्युत उपभोग नगरिकनै आफूहरुले महसुल तिर्नुपरेको उनले बताए । 

दोरा क्षेत्रमा विद्युत विस्तारका लागि परियोजनाले विद्युत प्राधिकरणको केन्द्रसँगै सम्झौता गरेकाले केन्द्रकै निर्देशन अनुसार काम गर्ने सुपरभाइजर लेखकले बताए ।

बैतडीको पाटन नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाका विद्युत विस्तार नभएका केही वडामा परियोजनाले काम गरिरहेको निर्माण कम्पनी एब्स्युलिट प्रोजेक्ट इण्डिया प्रालिका साइड इन्जिनियर दिपक मण्डलले बताए । 

विद्युतीकरणका केही सामग्री आपूर्तीमा समस्या भएकाले विद्युत विस्तारमा केही ढिलाइ भएको उनले बताए । सुर्नयाको दोरा क्षेत्रमा एक हप्ताभित्रै विद्युत विस्तारको काम शुरु हुने मण्डलले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update