बैतडी–बैतडीका ३० ओटा विद्यालयमा इ–रुपान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बालविवाह अन्त्यका लागि सञ्चालन गरिएको यो कार्यक्रम अन्तर्गत बालबालिकाहरुले अनलाइनमार्फत रुपान्तरण कक्षामा सहभागी हुन सक्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम संयोजक खगेन्द्र भट्टले बताए ।
इ–रुपान्तरण कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले रुपान्तरण प्याकेजमा भएका बिषयवस्तुको बारेमा सिक्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम संयोजक गणेश शाहीले बताए । रुपान्तरण प्याकेजका विभिन्न बिषयवस्तुका बारेमा किशोरकिशोरीहरुले अनलाइनमार्फत सिक्ने उनले बताए ।
इ–रुपान्तरण सञ्चालन भएका विद्यालयका शिक्षकहरुलाई तालिम दिइसकिएको छ । तालिम प्राप्त शिक्षकहरुले विद्यालयमा २५ जना किशोरकिशोरीहरुको समूह गठन गरेर उनीहरुलाई अनलाइनमार्फत इ–रुपान्तरण कक्षाका बिषयमा जानकारी दिने कार्यक्रम संयोजक शाहीले बताए ।
बालविवाह जस्ता हानिकारक प्रचलनको अन्त्यका लागि बैतडीका सातओटा स्थानीय तहमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा पीसवीनले रुपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको पीसवीनका कार्यक्रम संयोजक जनक भट्टले बताए ।
किशोरकिशोरीहरुलाई बालविवाहले पार्ने असरका बारेमा सिकाइ उनीहरुलाई सशक्त बनाउने गरिएको पीसवीनका फिल्ड संयोजक कृष्ण भट्टले बताए ।
यस्तै रुपान्तरण कार्यक्रम अन्तर्गत आगामी आर्थिक बर्षमा किशोरकिशोरी सम्मेलन लगायतका कार्यक्रमहरु गर्ने प्रस्ताव गरिएको छ । आज पाटनमा आयोजना गरिएको कार्यक्रममा बालविवाह अन्त्यका लागि गर्न सकिने क्रियाकलापको बिषयमा छलफल भएको कार्यक्रम संयोजक भट्टले बताए ।
पाटन नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाइसकेकाले उक्त योजना कार्यान्वयनका लागि विभिन्न क्रियाकलापहरु प्रस्ताव गरिएको कार्यक्रम संयोजक शाहीले बताए ।
बालविवाह अन्त्यका लागि पाटन नगरपालिकाले विभिन्न सरकारी तथा गैरसकारी निकायहरुसँग समन्वय गरिरहेको बताउँदै नगर प्रमुख गौरीसिंह रावलले हानिकारक प्रचलन अन्त्यका लागि सदैव सक्रिय रहने बताए ।





