Sagun Khabar
बैतडीको शिवनाथ पूर्ण खोप सुनिश्चित पालिका घोषणा, महिला स्वास्थ्य स्वयंसेविकालाई  सम्मान  

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । 

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणाका सबै मापदण्ड पूरा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए । गाउँपालिकाका ६ ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणापछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

गाउँपालिकाभित्र रहेका जन्मेदेखि १५ महिनासम्मका २ सय ६६ जना र १६ महिनादेखि २३ महिनासम्मका २ सय ५४ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो । 

बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु राष्ट्रिय खोप तालिका अनुसार लगाउने गरिएको छ । हरेक बर्ष बालबालिकाहरुले पाउनुपर्ने खोप पाएको सुनिश्चित गर्न पूर्ण खोप पालिका घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख महताले बताए । 

यसैबीच नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन सक्रिय रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई शिवनाथ गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । 

गाउँपालिकाभरीका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाले जनही ७ हजार ५ सयसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 

स्वास्थ्यको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदानको कदर गर्दै गाउँपालिकाले बजेट विनियोजन गरेर उनीहरुलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन उनीहरुको महत्वपूर्ण सहयोग रहेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update