बैतडी–पाटन नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा यौन तथा प्रजनन स्वास्थ्यका बिषय समेट्नका लागि सरोकारवालाहरुसँग छलफल भएको छ ।
यौन तथा प्रजनन स्वास्थ्यको बिषयलाई स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न आवश्य भएकाले सरोकारवालाहरुसँग छलफल गरिएको हो । पीसवीनको आयोजना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफीए)को सहयोगमा छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।
यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा अझै पनि धेरै नागरिकको बुझाइ कम भएकाले यो बिषयमा सघन रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका बझाङ जिल्ला कार्यक्रम संयोजक गणेश शाहीले बताए ।
पाटन नगरपालिकामा आगामी आर्थिक बर्षमा सञ्चालन गर्न सकिने कार्यक्रमहरुका बिषयमा छलफल गरिएको छ । नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागितामा आगामी बर्षका लागि कार्यक्रम प्रस्ताव गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका बैतडी कार्यक्रम संयोजक खगेन्द्र भट्टले जानकारी दिए ।
पाटनमा आगामी आर्थिक बर्षमा गर्भवती तथा सुत्केरी जाँच बढाउनका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने, ग्रामीण अल्ट्रासाउण्ड मेसिन खरीद गर्नुपर्ने,बालविवाह अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, विभेदपूर्ण लिङ्ग छनौट अन्त्यका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका प्रस्तावहरु राखिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गौरीसिंह रावलले यौन तथा प्रजनन स्वास्थ्यका बिषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने बताए ।





