Sagun Khabar
विद्यालयको कार्य सम्पादन स्तरमा सिगास गाउँपालिका पहिलो 

बैतडी–बैतडीका १० ओटा स्थानीय तहका विद्यालयहरुमा गरिएको कार्य सम्पादन स्तर परीक्षणमा सिगास गाउँपालिका पहिलो भएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आर्थिक बर्ष २०८१÷८२ मा गरेको कार्य सम्पादन परीक्षणमा सिगास गाउँपालिका ७३.३२ अंक ल्याएर जिल्लामै पहिलो भएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अनुसार १० ओटै स्थानीय तहका १२८ ओटा विद्यालयहरुको कार्यसम्पादनको स्तर मापन गरिएको थियो । सिगास गाउँपालिकामा १५ ओटा विद्यालयको कार्यसम्पादन मापन गरिएकोमा १२ ओटाको मध्यम र तीनओटा समान्य स्तर रहेको पाइएको छ । 

पाटन नगरपालिकाका १४ ओटा विद्यालयको स्तर मापन गर्दा ८ ओटाको मध्यम र ६ को स्तर सामान्य रहेको छ । पाटन नगरपालिकाले औसत ६७.४८ अंक पाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाले ६४ औसत अंक पाएको छ । उक्त गाउँपालिकाका १० ओटा विद्यालयको कार्यसम्पादनस्तर मापन गर्दा ८ ओटाको सामान्य र २ ओटाको मध्यम रहेको छ । 

यस्तै पुर्चौंडी नगरपालिकाका १८ ओटा विद्यालयको कार्य सम्पादन स्तर मापन गर्दा १३ ओटाको सामान्य र ५ ओटाको मध्यम स्तर रहेको छ । पुर्चौंडी नगरपालिकाले ६५.३१ औसत अंक पाएको छ । 

यस्तै डिलाशैनी गाउँपालिकाका १२ ओटा विद्यालयको कार्य सम्पादन स्तर मापन गर्दा ९ ओटाको सामान्य र ३ ओटाको मध्यम स्तर रहेको छ । डिलाशैनी गाउँपालिकाले ६३.१३ औसत अंक पाएको छ । 

शैक्षिक गुणस्तर परीक्षणको केन्द्रको कार्य सम्पादनस्तर मापनमा शिवनाथ गाउँपालिकाले ६०.२६ अंक पाएको छ । उक्त गाउँपालिकाका ७ ओटा विद्यालयको स्तर मापन गर्दा ६ ओटाको सामान्य र एक विद्यालयको स्तर मध्यम रहेको छ ।

यस्तै सुर्नया गाउँपालिकाका १२ ओटा विद्यालयको कार्य सम्पादन स्तर मापन गर्दा ११ ओटाको सामान्य र एक विद्यालयको मध्यम स्तर आएको छ । उक्त गाउँपालिकाले ५९.५४ औसत अंक पाएको छ । 
यस्तै पञ्चेश्वर गाउँपालिकाका ९ ओटा विद्यालयको स्तर मापन गर्दा ९ ओटैको सामान्य स्तर रहेको छ । उक्त गाउँपालिकाले ५७.६६ औसत अंक पाएको छ ।  

यस्तै दशरथचन्द नगरपालिकाका १९ ओटा विद्यालयको स्तर मापन गर्दा कार्य सम्पादन स्तरमा १९ ओटै विद्यालय सामान्य स्तरमा रहेका छन् । दशरथचन्द नगरपालिकाले ५७.१२ औसत अंक पाएको छ । 
यस्तै मेलौली नगरपालिकाका १२ ओटा विद्यालयको स्तर मापन गर्दा ११ ओटाको सामान्य र एक विद्यालयको मध्यमस्तर रहेको छ । मेलौली नगरपालिकाले ५६.१३ औसत अंक पाएको छ । 

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको बार्षिक प्रतिवेदन अनुसार बैतडीका जिल्लामा सिगास गाउँपालिकाका विद्यालयहरुको समग्र कार्यसम्पादन स्तर राम्रो रहेको छ । यस्तै दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाका विद्यालयहरुको कार्य सम्पादन स्तर कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update