दार्चुला – अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । सदरमुकाम खलङ्गाबाट २३ कोष उत्तर–पश्चिममा रहेको पालिकाको वडा नम्बर ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडकको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका स्थानीयमा अब राहतको आशा पलाएको छ ।
चालु आर्थिक बर्षभित्र गाउँपालिकाको काफलधारसम्म सडक पुग्ने र आगामी आर्थिक बर्षभित्र गाउँपालिकाको केन्द्रमा सडक पुर्याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए । पारिवगर–मकरीगाड सडक दुई वर्ष भित्र कालोपत्र गर्न ठेक्का लागिसकेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपिहिमाललगायत अन्य पालिकाहरूलाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ । सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।
गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने स्थानीय दिपक टमाटाले बताए । उनका अनुसार भट्टारभन्दा अगाडि सडक पुगिसकेको छ भने निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्रसम्म सवारी सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् ।
गाउँपालिका केन्द्र वडा नं ४ को नौपाटामा पर्छ । सडकले गाउँपालिकाका वडा नं ३ र ४ लाई जोड्छ । यो ठाउँमा सडक काट्न चट्टानी भू–भाग नहुँदा पनि सडकले गति लिनेछ । अपिहिमाल–१ र २ मा सडक सञ्जालले तत्काललै जोडिने सम्भावना छैन् । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाको लागि राहत हुने स्थानीयले बताएका छन् ।





