बैतडी–जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राख्दै बैतडी अस्पताल व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
स्ववियु अध्यक्ष रोशन भट्टले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्रीलाई ९ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
अध्यक्ष भट्टले बुझाएको ज्ञापन पत्रमा जिल्ला अस्पतालमा डाइलासिस सेवा शुरु गर्नुपर्ने, अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्नुपर्ने, आवश्यकता अनुसार बिशेषज्ञ चिकित्सकहरुको व्यवस्थापन गर्नुपर्ने, लक्षित समुदायका नागरिकको उपचारका लागि बिशेष व्यवस्था गर्नुपर्ने, अस्पतालमा आवश्यक औषधी, उपकरण र प्रयोगशाला सेवा नियमित र व्यवस्थित हुनुपर्ने, स्वास्थ्य बीमामा आवद्ध नागरिकको सेवा प्राप्त गर्ने हकलाई व्यवस्थित गर्नुपर्ने लगायतका कुराहरु उल्लेख गरिएका छन् ।
ज्ञापन पत्र बुझ्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रीले अस्पतालको समग्र सेवा विस्तारका लागि समिति सक्रिय रहेको बताएका छन् । प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा अस्पतालको स्तरोन्नति गर्ने कुरा उल्लेख गरेकाले अस्पताल ५० शैय्यामा स्तरोन्नति हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
अस्पताल स्तरोन्नति भएमा स्वास्थ्य सेवा सहज र प्रभावकारी हुने अध्यक्ष क्षेत्रीले बताए ।





