Sagun Khabar
असिनाले सखाप पारेपछि दोस्रोपटक मकै छर्दै बैतडीका किसान

बैतडी –केही दिन पहिला परेको असिनाले बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका किसान समस्यामा परेका छन् । तीन स्थानीय तहमध्ये मेलौली नगरपालिकामा असिनाले सबैभन्दा ठूलो क्षति पु¥याएको प्रारम्भिक विवरण छ ।

अचानक परेको असिनाले खेतबारी सेताम्ये बनाउँदा भर्खर उम्रिएका मकैका बोट पूरै नष्ट भएका छन् । मकै गोड्ने तयारीमा रहेका किसान असिनाले मकैबाली सखाप पारेपछि पुनः बीउ छर्न बाध्य भएका छन् । 

मेलौली नगरपालिकाका किसान करन भट्टका अनुसार चार पाते भइसकेको मकै असिनाले पूर्ण रूपमा सखाप पारेपछि फेरि छर्नुपर्ने अवस्था आएको हो । 

किसानहरूका अनुसार असिनाले माटो थिचिएको हुँदा यस वर्ष उत्पादन घट्ने निश्चितजस्तै भएको छ । दोहो¥याएर खेती गर्नुपर्दा लागत बढ्नुका साथै समय पनि ढिलाइ हुने भएकाले मकैसँगै तरकारी उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ ।

असिनाबाट भएको क्षतिपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन पत्र पठाएको छ । त्यसपछि मात्रै नगरपालिकाहरूले क्षतिको विवरण संकलन सुरु गरेका छन् ।  तर, किसानका लागि राहत पाउने सम्भावना भने न्यून देखिएको छ ।

मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले घर तथा विद्यालयका छाना उडाएको क्षतिमा मात्रै क्षतिपूर्ति दिन सकिने र असिनाबाट बालीमा भएको क्षतिमा स्थानीय तहबाट राहत दिन कानुनी व्यवस्था नभएको बताए । राहतको सुनिश्चितता नहुँदा असिनापीडित किसान थप अन्योलमा परेका छन् ।

मकै पकेट क्षेत्रमै असिनाले क्षति पुर्याएपछि मकैको उत्पादन घट्ने आँकलन गरिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update