बैतडी–बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ स्वीकृत गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको योजना बैठकबाट स्वीकृत गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।
शुक्रबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा योजना पेश भएको र बैठकले योजना स्वीकृत गरेको उनले बताए । योजनामा विपद्को पूर्वतयारी,विपद्को समयमा गर्नुपर्ने काम र विपद् पश्चात गर्नुपर्ने कामका बिषय समावेश गरिएका छन् ।
यस्तै मनसुनको समयमा सम्भावित जोखिमयुक्त स्थानहरुको पहिचान गरेर त्यो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने बिषयमा बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
यस्तै बर्षातको समयमा प्रमुख राजमार्गहरु सुचारु गर्नका लागि सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयलाई आवश्यक तयारी रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
विपद्को समयमा सुरक्षा निकाय र अन्य सरोकारवालाहरुलाई आवश्यक परेको ठाउँमा परिचालित गर्ने निर्णय समेत भएको उनले बताए ।
बैतडीमा बाढी,पहिरोजस्ता प्रकोपको बढी जोखिम भएकाले यसबाट प्रभावित हुन सक्ने समुदायको पहिचान गरेर उचित प्रबन्ध मिलाउन स्थानीय तहहरुलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।





