बैतडी–बैतडीमा अपांगता भएका दलित समुदायका नागरिकलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । दशरथचन्द नगरपालिका–१ पितलथलामा रहेको अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रको समन्वयमा झोकाली र पारीकलौन क्षेत्रका अपांगता भएका दलित समुदायका नागरिकलाई चामल वितरण गरिएको छ ।
सुर्नया गाउँपालिका–२ कुरकुट्याका विनोदबहादुर चन्द र काठमाण्डौं निवासी सौरेन्द्र शाहले चामल वितरणका लागि रकम उपलब्ध गराएको अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले बताए ।
२७ जना अपांगता भएका दलित समुदायका नागरिकलाई प्रतिव्यक्ति २५ केजीका दरले चामल वितरण गरिएको उनले बताए । अपांगता भएका व्यक्तिहरुमध्ये पनि दलित समुदायका नागरिक झन् समस्यामा भएकाले उनीहरुलाई चामल वितरण गरिएको हो ।
अपांगता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रले अपांगता भएका नागरिकहरुको हकहितका लागि काम गर्दै आएको र उनीहरुको अधिकार स्थापित गर्न क्रियाशील रहेको अध्यक्ष भट्टले बताए ।
चामल वितरण कार्यक्रममा दशरथचन्द नगरपालिका–१ का वडा सदस्य चक्रबहादुर चन्द लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





