Sagun Khabar
बैतडीमा घरमै राहदानी पुर्याउन थालियो 

बैतडी–बैतडीमा घरमै राहदानी पुर्याउने कार्य शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच गएको वैशाख १५ गते भएको सम्झौता अनुसार सेवाग्राहीको घरमै राहदानी पुर्याउने कार्य शुरु गरिएको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाशसिंह कार्कीले बताए । 

राहदानी बनाउनका लागि फारम भर्ने बेलामा घरमै राहदानी लिन चाहने नागरिकहरुको राहदानी घरमै पुर्याउने कार्य सुचारु भएको कार्यालय प्रमुख कार्कीले बताए । पहिलो चरणमा गएको जेट २० गतेदेखि सेवाग्राहीको घरमै राहदानी पुर्याउने कार्य शुरु गरिएको थियो । घरमै राहदानी चाहने ११ जनाको राहदानी घरमै पुगेर वितरण गरिसकिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । 

दोश्रो चरणमा ९६ थान राहदानी प्राप्त भएको र ती राहदानी सम्बन्धित व्यक्तिको घरमा पुर्याउने काम भइरहेको कार्यालय प्रमुख कार्कीले बताए । 

राहदानी बनाउनका लागि फारम भर्ने बेलामै घरमै राहदानी लिन चाहने नागरिकले जिल्ला हुलाक कार्यालयलाई ५५ रुपैयाँ शुल्क तिरेर अनुसुची अनुसारको फारम भर्नुपर्ने हुन्छ । सो फारम भरेका नागरिकको घरमै राहदानी पुर्याउने काम भइरहेको जिल्ला हुलाक कार्यालयले जनाएको छ । 

नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले घरमै राहदानी पुर्याउनका लागि जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update