बैतडी–बैतडीको पाटन नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका १० ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई आज एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।
नगरपालिकाभरीका १६ देखि २३ महिनासम्मका ३ सय २७ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार तोकिएका खोप पाएको एकीन भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । हरेक बर्ष नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम अनुसार यो बर्ष पनि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु राष्ट्रिय खोप तालिका अनुसार लगाउने गरिएको छ ।
पाटन नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा १० ओटै वडालाई पूर्ण खोप वडा सुनिश्चित घोषणाको प्रमाणपत्र समेत वितरण गरिएको थियो । नगर खोप समन्वय समितिका संयोजक एवं नगर प्रमुख गौरीसिंह रावलले १० ओटै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र वितरण गरेका हुन् ।
पाटन नगरपालिकामा ४१ ओटा खोप केन्द्रमार्फत खोप कार्यक्रम सञ्चालन गर्ने गरिएको भएपनि १० ओटा खोप केन्द्रमा भवन नहुँदा समस्या भएको छ । भवन नभएका खोप केन्द्रहरुमा भवन निर्माणका लागि स्वास्थ्यकर्मीहरुले नगरपालिकासँग आग्रह समेत गरेका छन् ।





