Sagun Khabar
हानिकारक प्रचलन हटाउन अन्तरपुस्ता सम्वाद 

बैतडी–समुदायमा रहेका विभिन्न खालका हानिकारक प्रचलन हटाउनका लागि अन्तरपुस्ता सम्वाद सञ्चालन गरिएको छ । 

दुई फरक पुस्ताका नागरिकहरुबीच सम्वाद सञ्चालन गरेर हानिकारक प्रचलन हटाउने प्रयास गरिएको हो । 

बैतडीको पाटन नगरपालिका– २ र ६ मा परोपकार ग्रामीण विकास संघले अन्तरपुस्ता सम्वाद कार्यक्रम सञ्चालन गरेको संघका कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

अभिभावक, किशोरकिशोरी, शिक्षक, धार्मिक अगुवा र अन्य सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर समाजमा रहेका हानिकारक प्रचलनका बिषयमा सम्वादमा छलफल गरिएको उनले बताइन् । 

बालविवाह, महिनावारी भएको बेला गरिने विभेद, लैङ्गिक हिंसा लगायतका बिषयमा अन्तरपुस्ता सम्वादमा छलफल गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए । 

पाको पुस्ता र अहिलेको पुस्तालाई सकारात्मक कामका लागि जोड्ने अभियान अन्तर्गत अन्तरपुस्ता सम्वाद सञ्चालन गरिएको कार्यक्रम संयोजक भट्टले बताइन् । यो सम्वादमा सहभागीहरुले हानिकारक प्रचलन र त्यस्ता प्रचलन हटाउनका लागि खुलेर सम्वाद गरेको उनले बताइन् । 

दुई फरक पुस्ताबीचको सम्वादले समाजमा रहेका गलत प्रथाहरु हटाउन सहयोग पुग्ने कृष्ण मावि पाटनका प्रधानाध्यापक विरेन्द्र केसीले बताए । उनले भने, ‘शिक्षक, विद्यार्थी, अभिभावक र अन्य सरोकारवाला एकै ठाउँमा बसेर विभिन्न बिषयमा छलफल गर्न पाउनु धेरै राम्रो कुरा हो । यसले गलत प्रथाहरुलाई हटाउनका लागि सहयोग पुगेको छ ।’

बालविवाह गरेकै कारण पहिलेको पुस्ताले भोगेको कुरा नयाँ पुस्तालाई सुनाएर बालविवाह न्यूनीकरणका लागि थप सहयोग पुग्ने प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले बताए । समाजमा रहेका राम्रा मान्यताहरुलाई स्थापित गर्न र गलत मान्यताहरुलाई विस्थापित गर्न अन्तरपुस्ता सम्वादले ठूलो सहयोग पुगेको उनले बताए । 

बालविवाह गरेकै कारण अहिले पनि महिलाहरुले धेरै समस्या भोग्नुपरिरहेकाले यस्ता समस्याहरुका समाधानका लागि अन्तरपुस्ता सम्वादले सकारत्मक सन्देश दिने महिला स्वास्थ्य स्वयंसेविका निर्मला ऐरले बताइन् । 

अन्तरपुस्ता सम्वादमा सहभागी किशोरकिशोरीहरुले हानिकारक प्रचलन हटाउन अभिभावकहरुसँग बसेर छलफल गर्न पाउँदा निकै उपलब्धिमूलक भएको बताएका छन् । आफ्ना समस्या, गुनासा र अपेक्षा अभिभावकहरुसँग राख्न पाउँदा सहज भएको उनीहरुको भनाइ छ । 

परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा पाटन नगरपालिका–२ र ६ मा किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको संस्थाकी अध्यक्ष मीरा पन्तले बताइन् । अन्तरपुस्ता सम्वादजस्ता कार्यक्रमहरुले समाज रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् । 

an-1781698854.jpg
 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update