बैतडी–बैतडीमा एक महिनाको अवधिमा १ सय ३० सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका ती सवारी साधनहरुमाथि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लंघ गर्ने सवारी साधनबाट जेठ महिनामा १ लाख २५ हजार ५ सय रुपैयाँ जरीवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाउन चालकहरुलाई आग्रह गर्ने गरिएको भएपनि ट्राफिक नियम उल्लंघनका घटनाहरु भइरहेका बताइएको छ ।
यस्तै जेठ महिनामा चारओटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
सवारी दुर्घटनको कारण विश्लेषण गर्दा चालकको लापरवाहीका कारण २, सवारी साधनको गडबडीका कारण एक र यात्रुका कारण एक दुर्घटना भएको बैतडी प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लखे गरिएको छ ।
यस्तै एक महिनाको अवधिममा १ लाख ४० हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।





