Sagun Khabar
बैतडीमा यो बर्ष लागू औषध मुद्दामा ११ जना पक्राउ 

बैतडी–बैतडीमा यो बर्ष लागू औषध मुद्दामा ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चालु आर्थिक बर्षको अहिलेसम्म विभिन्न ठाउँबाट ११ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । 

चालु आर्थिक बर्षको साउनदेखि २०८३ असार ४ गतेसम्म खैरो हेरोइनसहित ९ जना र चरेशसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । पक्राउ परेकामध्ये एकजनामाथि अनुसन्धान भइरहेको छ भने अन्यहरुलाई कानुन अनुसार कारवाही भइसकेको उनले बताए । 

पक्राउ पर्नेहरुमाथि लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान र कारवाही गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षमा लागू औषधसहित पक्राउ परेकामध्ये धेरैजसो पाटन क्षेत्रका रहेका छन् । पक्राउ परेका ११ जनामध्ये १० जना पाटन क्षेत्रका रहेका छन् भने एक जना दशरथचन्द नगरपालिका -४ गोठलापानीका रहेका छन् । 

गत आर्थिक बर्षमा लागू औषधसहित नौ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये ६ जना चरेशसहित पक्राउ परेका थिए भने तीन जना खैरो हेरोइनसहित पक्राउ परेका थिए । 

जिल्लाको पाटन नगरपालिका क्षेत्रमा लागू औषध दुर्व्यसनीको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । लागू औषध दुर्व्यसनीमा युवा अवस्थाका मानिसहरु संलग्न रहेकाले निकै चिन्ताको बिषय बनेको कृष्ण माविका प्रधानाध्यापक विरेन्द्र केसीले बताए । 

लागू औषध नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसके समस्या विकराल बन्दै जाने उनले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update