Sagun Khabar
दशरथचन्द नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि आज एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो । 

नगरपालिकाभित्रका जन्मदेखि २३ महिनासम्मका सबै १२ सय ४६ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । 

नगरपालिकाभित्र जन्मेदेखि १५ महिनासम्म ४ सय ४४ जना बालबालिकाहरु रहेका छन् । राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु लगाउने गरिएको छ ।

नगरपालिकाका ११ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । दशरथचन्द नगरपालिकामा ३६ ओटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई खोप लगाउने गरिएको छ । 

२०७१ सालमा देशकै पहिलो पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएयता दशरथचन्द नगरपालिकालाई हरेक बर्ष पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिँदै आएको छ । 

दशरथचन्द नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रममा १० ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणाको प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणाका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले दशरथचन्द नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । नगरपालिकामा निर्वाचित भएर आएको चार बर्षको अवधिमा दशरथचन्द नगरपालिकाको देहीमाण्डौं,बाराकोट, दुर्गाभवानी,जोशीबुङ्गा लगायतका ठाउँँमा आधुनिक र व्यवस्थित स्वास्थ्यचौकीका भवन निर्माण गरिएको बताए । 

नगरपालिकाले आगामी आर्थिक बर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे । 

पूर्ण सुनिश्चित नगरपालिका घोषणा कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले खोप कार्यक्रम निकै प्रभावकारी कार्यक्रम रहेको बताए । नेपालमा बालमृत्युदर र मातृमृत्युदर घटाउनमा खोप कार्यक्रम महत्वपूर्ण भूमिका रहेको उनले बताए । 

बैतडीका १० ओटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिने धामीले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update