बैतडी–बैतडीको सिगास गाउँपालिका मातहतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा नहुने भएको छ । हप्ता दुई दिन बिदा हुँदा सेवा प्रवाहमा असहजता भएको र व्यापक जनगुनासो पनि आएकाले आइतबारको बिदा हटाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर बोहराले बताए ।
गाउँकार्यपालिकाको असार ४ गतेको निर्णय अनुसार गाउँपालिका मातहका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरु आइतबार पनि सञ्चालन हुने उनले बताए ।
कार्तिक १५ गतेसम्म कार्यालयहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कार्यालयहरु सञ्चालन हुने बताइएको छ । यस्तै माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयहरु सञ्चालनमा आउने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुने जनाइएको छ ।






