बैतडी–बैतडीको सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि आज एक कार्यक्रमकाबीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिनासम्मका ३ सय २२, १६ महिनादेखि २३ महिनासम्मका १ सय ८७ र २४ महिनादेखि ५९ महिनासम्मका ९ सय ६ जना बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको एकीन भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोपहरु लगाउने गरिएको छ ।
गाउँपालिकाका ८ ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । सुर्नया गाउँपालिकामा २५ ओटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई खोप लगाउने गरिएको छ ।
सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा ८ ओटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणाको प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसअघि प्रत्येक वडामा पूर्ण खोप सुनिश्चित वडा घोषणाको समयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । पालिकाभरीका ६६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्बन्धित वडामै सम्मान गरिएको उनले बताए ।
पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै पालिका खोप समन्वय समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।





