Sagun Khabar
मसानी दलित आधारभूत विद्यालयमा अंग्रजी माध्यमबाट पढाइ शुरु, सापकोटाले गरे पुस्तक सहयोग 

बैतडी –बैतडीको पाटन नगरपालिका–४ ज्यौडेस्थित मसानी दलित आधारभूत विद्यालयमा यो शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । 

यो बर्षदेखि नर्सरी कक्षा सञ्चालन गरेर अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको स्थानीय समेत रहेका उपप्राध्यापक मानबहादुर चन्दले बताए । अधिकांश दलित समुदायका बालबालिकाहरु अध्ययनरत रहेको सो विद्यालय बन्द हुने अवस्थामा पुगेपछि अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको उनले बताए । 

स्थानीय अभिभावकहरुको भेला बोलाएर नयाँ विद्यालय व्यवस्थापन समिति चयन गर्नुका साथै यो बर्षदेखि नर्सरी कक्षा सञ्चालन गरिएको चन्दले बताए । बोर्डिङ पढाउने भन्दै गाउँका बालबालिकाहरुलाई अन्यत्र भर्ना गर्न थालिएको विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको हो । 

यसैबीच विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेपछि काठमाण्डौं निवासी समाजसेवी सहदेव सापकोटा पुस्तक सहयोग गरेका छन् । 

नर्सरी कक्षाका लागि अंग्रेजी माध्यमबाट २० सेट पुस्तक उनले निशुल्क रुपमा उपलब्ध गराएको चन्दले बताए । 

यस अघि पनि सापकोटाले यस क्षेत्रका विद्यालयमा पोशाक, अनाथ बालबालिकालाई छात्रवृत्ति तथा गरिब व्यक्तिहरुको उपचारमा सहयोग गरिसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update