बैतडी– बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट बहुमतबाट पारित गरेको छ । आज बसेको नगरसभाबाट आगामी आर्थिक बर्षका ६९ करोड ५८ लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।
नगर उपप्रमुख कमलसिंह बोहराको असहमतिका बापजुत नगरपालिकाले आगामी आर्थिक बर्षको बजेट ल्याएको हो । नगर प्रमुख गौरीसिंह रावलले सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टलाई बजेट प्रस्तुत गर्न लगाएका थिए ।
नगरसभामा सहभागी भएका सबै सदस्यहरुले बजेटमा सहमति जनाउँदै पारित गरेका सामाजिक विकास समिति संयोजक बिष्टले बताए ।
वडा अध्यक्ष बिष्टले पेश गरेको बजेटमा नगरपालिकाले हालसम्म रहेका अधुरा योजनालाई अघि बढाउने तथा आगामी आर्थिक वर्षलाई नगरपालिकाले थप उपलब्धिमुलक बनाउने योजना अघि सारेको जनाएका छन् ।
शिक्षा, स्वास्थ्य, पुर्वाधार, प्रशासनिक योजना र सेवा प्रवाहलाई थप परिस्कृत गर्ने योजना बजेटमा समावेश गरिएको बिष्टले बताए ।
नगरसभामा वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले आर्थिक विधेयक पेश गरेका थिए । सो विधेयक पनि पारित भएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।
नगरसभामा नगर उपप्रमु बोहरासँगै प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याल पनि अनुपस्थित रहेका थिए निमित्तको जिम्मेवारीमा रहेका ललित कुमार पाण्डेय भने नगर सभामा उपस्थित रहेका थिए ।
बजेट प्रस्तुत गर्ने बिषयमा नगर उपप्रमुखसँगै प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग समन्वय गर्दै अघि बढ्ने बिषयमा छलफल गरिएको भएपनि सफल नभएको नगर प्रमुख रावलले नगरसभा सदस्यहरुलाई जानकारी गराएका थिए ।
नगर योजना तर्जुमा समितिका संयोजक समेत रहेका नगर उपप्रमुख बोहराले आर्थिक वर्ष २०८३÷८४ को बजेट तर्जुमा प्रक्रिया विधिसम्मत र पारदर्शी ढंगले अघि नबढाइएको भन्दै असहमति जनाएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपप्रमुख बोहराले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा स्थानीय तह योजना तथा बजेट तर्जुमा सम्बन्धी निर्देशिकाले तोकेको प्रक्रिया पालना नगरी बजेट निर्माणको काम अघि बढाइएको उल्लेख गरेका छन् ।





