Sagun Khabar
बैतडीको हरिचनमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ हरिचनमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति पुर्याएको छ । 

मंगलबार साँझ बर्षासँगै आएको हावाहुरीले हरिचनको गाड भन्ने टोलमा मकैबालीमा व्यापक क्षति पुर्याएको स्थानीय दिपेन्द्रबहादुर मडैले बताए । 

बर्षासँगै आएको हावाहुरीले खेतमा लगाएको मकै ढलेर नष्ट भएको उनले बताए । भर्खर घोगा लाग्न थालेका मकैमा क्षति भएपछि किसानहरु चिन्तित बनेका छन् । 

जंगली जनावरबाट मकैबाली जोगाउन धौ–धौ परिरहेका बेला बर्षा र हावाहुरीले थप क्षति पुर्याएको स्थानीय अमरसिंह मडैले बताए । बर्षा र हावाहुरीले मकैबालीमा व्यापक क्षति पुर्याएको उनले बताए । 

मुख्य खाद्यबालीको रुपमा रहेको मकैबालीमा क्षति भएपछि किसानहरुलाई भोकमरी हुने चिन्ताले सताएको छ । बर्षासँगैको हावाहुरीले मकै ढलेर सखाप भएको अर्का किसान जयबहादुर मडैले बताए । 

मकै पकेट क्षेत्रमै विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको छ । जंगली जनावरबाट जोगाउन मुस्किल भइरहेका बेला अन्य प्राकृतिक प्रकोपले मकैबालीमा क्षति हुँदा समस्या भएको किसानहरुले बताएका छन् । 

बैतडीमा १२ हजार १ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको भएपनि पछिल्ला बर्षहरुमा मकैखेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ । 

प्रकाशित मिति: बुधबार, असार २४, २०८३  ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update