बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । गाउँपालिकाले गएको चार बर्ष यता प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दैै आएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गाउँपालिकाभित्र स्थायी बसोबास भएका विद्यार्थीहरुलाई छात्रवृतिका लागि आवेदन आह्वान गरिएको र आवेदनबाट छनौट भएका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले बताए ।
यो बर्ष प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने ८ जनालाई ५ लाख रुपैयाँ छात्रवृति प्रदान गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए । छात्रवृतिका लागि आवेदन परेकामध्ये छात्रवृति व्यवस्थापन समितिले छनौट गरेका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको हो ।
गाउँपालिकाले शैक्षिक छात्रवृति व्यवस्थापन कार्यविधि बनाएर सोही अनुसार छनौट भएका विद्यार्थीहरुको खातामा छात्रवृति बापतको रकम जमा गर्ने गरेको छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट विद्यार्थीहरु वञ्चित नहोउन भनेर छात्रवृति प्रदान गर्ने गरिएको अध्यक्ष साउँदले बताए ।
यो बर्ष शिवनाथ गाउँपालिका –२ सुनकोटका सचिनकुमार साउदलाई एमबीबीएस अध्ययन गर्नका लागि १ लाख २५ हजार रुपैयाँ छात्रवृति प्रदान गरिएको छ । यस्तै शिवनाथ गाउँपालिका–५ डोसेराका निरज धनाडीलाई बीइ सिभिल अध्ययनका लागि ७५ हजार रुपैया छात्रवृति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै बीएस्सी एजी अध्ययन गर्नका लागि शिवनाथ –१ नवीन साउँद, शिवनाथ –५ स्वलपलाका मनिष महता, शिवनाथ –२ पोखरकी प्रतिभा साउद, शिवनाथ –२ शर्मालीका दिपक चन्द, शिवनाथ –१ कुडका प्रवीणसिंह साउद र सोही ठाउँकी अञ्जली साउँदलाई छात्रवृति प्रदान गरिएको छ । उनीहरुलाई जनही ५० हजारका दरले छात्रवृति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।





