बैतडी–नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको ४२ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति विष्णुदत्त अवस्थीको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराई प्रमुख अतिथी रहेका थिए । साधारण सभामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख,रेडक्रसका पदाधिकारी, उपशाखाहरुका प्रतिनिधि, स्वयंसेवक लगायतको सहभागिता रहेको थियो ।
बार्षिक साधारण सभाले कार्यवाहक मन्त्री सहदेव भट्टले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपकोषाध्यक्ष सुदर्शन लेखकले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको सभापति अवस्थीले बताए ।
बार्षिक साधारण सभामा तीनओटा उपशाखालाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । जीवन रक्षाको क्षेत्रमा खोड्पे उपशाखा, सदस्यता वृद्धिको क्षेत्रमा गाँजरी उपशाखा र जुनियर गतिविधिको क्षेत्रमा शिवनाथ उपशाखालाई सम्मान गरिएको सभापति अवस्थीले बताए ।
यस्तै जुनियर रेडक्रस सर्कल परिचालनको क्षेत्रमा दशरथचन्द मावि सुन्दरखालीलाई सम्मान गरिएको रेडक्रसकी स्वयंसेवक कुन्ती भट्टले बताइन् । यस्तै रेडक्रसले सञ्चालन गरेको ब्लड बैंकमा कार्यरत ल्याब असिष्टेन्ट गंगादत्त जोशीलाई पनि सम्मान गरिएको छ ।
यस्तै रेडक्रसले सञ्चालन गरेका विभिन्न गतिविधि र प्राथमिक उपचारको क्षेत्रमा सक्रिय रहेका १० जना स्वयंसेवकहरुलाई सम्मान गरिएको सभापति अवस्थीले बताए । सम्मानित हुनेमा मेलौलीकी कुन्ती भट्ट र रामेश्वरी ठकुराठी, सुर्नयाका जगदीश बिष्ट, रामबहादुर कुँवर र देव महरा, पाटनकी द्रोपती ऐर, दशरथचन्द नगरपालिकाका रेजिना टेलर, मुस्कान धामी र सुरज चन्द रहेका छन् ।
यसैगरी सिगास गाउँपालिकालाई आजै रेडक्रसको संस्थागत सदस्यता प्रदान गरिएको छ । यसअघि सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकालाई संस्थागत सदस्यता प्रदान गरिसकिएको रेडक्रस बैतडीले जनाएको छ ।
यस्तै रेडक्रसको बार्षिक साधारण सभाले जिल्ला अस्पतालमा रेडक्रसको व्यवस्थापन सञ्चालनमा रहेको ब्लड बैंकलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । ब्लड बैंकमा रगतको अभाव हुन नदिन प्रत्येक पालिकामा कम्तीमा १० जनालाई रक्तदानका लागि प्रोत्साहन गर्ने रणनीति लिएको सभापति अवस्थीले बताए ।





