Sagun Khabar
शिवनाथ गाउँपालिकाको बजेट ४४ करोड ४९ लाख 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷८४ का लागि ल्याएको ४४ करोड ४९ लाख ८३ हजार २२५ रुपैयाँ बराबरको बजेट गाउँसभाबाट पारित गरेको छ । 

यसअघि गाउँसभामा पेश गरिएको बजेट विस्तृत छलफलपछि पारित गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा समग्र विकास, सुशासनको सुदृढीकरण तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष साउँदले बताए । 

शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सडक, सिँचाइ, पर्यटन, युवा स्वरोजगार प्रवद्र्धन, महिला सशक्तीकरण र सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी बर्षको बजेट पारित गरिएको अध्यक्ष साउँदको भनाइ छ । 

बजेटको प्रभावकारी कार्यान्वयनलाई ध्यानमा राखेर बजेट ल्याएको बताउँदै गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँदले बजेट कार्यान्वयनमा सबैको सहयोग रहने विश्वास व्यक्त गरेकी छन् । 

गाउँपालिकाको आर्थिक विधेयक तथा विनियोजन विधेयक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्यले बताए ।
 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update