Sagun Khabar
दिवंगत स्वास्थ्यकर्मी हेमन्त भण्डारीका परिवारलाई १ लाख बढी सहयोग

बैतडी–बैतडीको पाटन नगरपालिका–६ का स्वर्गीय स्वास्थ्यकर्मी हेमन्त भण्डारीका परिवारलाई १ लाख बढी नगद सहयोग हस्तान्तरण गरिएको छ । 

पाटन नगरपालिका क्षेत्रभित्र कार्यरत स्वास्थ्यकर्मीहरुले स्वेच्छिक रुपमा संकलन गरेको सहयोग रकम हस्तान्तरण गरिएको पाटन नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक दमयन्ती ऐरले बताइन् । 

मंगलबार भण्डारीकै घरमा पुगेर उनका ७ बर्षीय छोरालाई १ लाख ७ हजार २३५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको ऐरले बताइन् । १ लाख ९ हजार ६६५ रुपैयाँ संकलन भएकोमा २ हजार ४३० रुपैयाँको सामग्री खरीद गरिएको उनले बताइन् । 

दुःखको समयमा भण्डारीको परिवारलाई केही राहत पुगोस भनेर रकम संकलन गरेर हस्तान्तरण गरिएको सिलङ्गा स्वास्थ्यचौकीका प्रमुख बिरसिंह खातीले बताए । 

प्राथमिक स्वास्थ्य केन्द्र पाटन, पाटन नगरपालिकाको स्वास्थ्य शाखा, आयुर्वेद शाखा तथा विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागितामा सहयोग रकम संकलन गरिएका खातीले बताए । सहयोग रकम हस्तान्तरणसँगै स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घरमै शोकसभा पनि आयोजना गरिएको थियो । 

स्वर्गीय भण्डारी पाटन नगरपालिका–५ स्थित ओदाली शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत रहेका थिए । कैलालीको अत्तरिया अस्पतालमा मुटुको शल्यक्रियापछि भण्डारी असार २२ गते निधन भएको थियो । अस्पतालको लापरवाहीका कारण भण्डारीको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् । 

स्वर्गीय हेमन्त भण्डारीका श्रीमती र ७ बर्षीय एक छोरा छन् । स्थानीय स्वास्थ्यकर्मीहरूले परिवारप्रति समवेदना व्यक्त गर्दै भविष्यमा आवश्यक सहयोगका लागि समेत प्रतिबद्धता जनाएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update