बैतडी–नेपाली कांग्रेसमा युवा महिलाको सहभागिता बढाउन बैतडीमा नेपाल महिला संघले छलफल गरेको छ ।
कांग्रेसको १५ औं महाधिवेशनमा युवा महिलाको सहभागिता बढाउनका लागि ३५ बर्ष मुनिका युवा महिलाहरुलाई नयाँ क्रियाशील सदस्यता वितरणका बिषयमा महिला संघले छलफल गरेको हो ।
नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टको अध्यक्षतामा आज भएको कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य राजु भट्ट जोशी प्रमुख अतिथी रहेकी थिइन् । उक्त छलफल कार्यक्रममा नेपाल महिला संघ बैतडीका अध्यक्ष देवु ठगुन्ना, तुलसी ठगुन्ना, मीना चन्द,सुर्नया गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा,भागरथी भट्ट लगायतको सहभागिता थियो ।
यस्तै नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्र चन्द, नेपाली कांग्रेस डडेल्धुराका क्षेत्रीय सभापति कैलाशकुमार पाण्डेय, दलित संघ डडेल्धुराका अध्यक्ष शिव सोब, महिला संघका नेतृ रत्ना कार्कीको पनि सहभागिता रहेको थियो ।
कांग्रेसमा युवा महिलाको सहभागिता बढाउन जिल्लाका सबै तहमा छलफल, अन्तरक्रिया सञ्चालन गरिने उपसभापति बिष्टले बताए । वर्तमान सरकार नागरिकको मतबाट विमुख भएको बताउँदै निरंकुशताको बाटोमा लागेको दाबी गरे ।
लोकतन्त्रको संस्थागत विकास र सुदृढ लोकतन्त्रका लागि नेपाली कांग्रेस निर्विकल्प रहेको बताउँदै उनले युवा महिलाहरुलाई नेपाली कांग्रेसमा आवद्ध हुन आग्रह गरे ।
छलफल कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य राजु भट्ट जोशीले नेपाल महिला संघमा युवा महिलाहरुको सहभागिता बढाउनका लागि वडा तहबाटै पहल गरिने बताइन् ।





