बैतडी–बैतडीमा जन्मेको ६ महिनादेखि पाँच बर्ष मुनिका १ सय १३ जना बालबालिका कडा कुपोषण रहेको पाइएको छ । गत वैशाखमा सञ्चालन गरिएको पोषण लेखाजोखा अभियान अन्तर्गत बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्दा १ सय १३ जनामा कडा खालको कुपोषण देखिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।
जिल्लाभरीका १० हजार १ सय ३ बालबालिकाहरुको पोषण लेखाजोखा गर्दा ५ सय १६ जना मध्यम खालको कुपोषण रहेको पाइएको कार्कीले बताए ।
बालबालिकाहरुको पाखुराको नाप, उचाइ र तौल परीक्षण गरेर पोषणस्थिती पत्ता लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
पाखुराको नाप लिँदा १ सय १५ मिलिमिटर भन्दा कम भएका बालबालिकाहरुलाई कडा शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको छ । यस्तै १ सय १५ मिलिमिटर भन्दा बढी र १ सय २५ मिलिमिटर भन्दा कम नाप भएका बालबालिकाहरुको मध्यम शीघ्र कुपोषणको सूचीमा राख्ने गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
उचाइ अनुसारको तौल नभएका बालबालिकाहरुलाई पनि कुपोषितको सूचीमा राख्ने गरिएको छ ।
मध्यम खालको कुपोषण भएका बालबालिकाहरुका लागि घरमै खानपानमा ध्यान दिनुपर्ने हुन्छ भने अति शीघ्र कुपोषण भएका बालबालिकाहरुको ओटीसी सेन्टरमा उपचार गरिने सूचना अधिकारी कार्कीले बताए । अति शीघ्र कुपोषण भएका बालबालिकालाई पोषिलो खानेकुरा दिएर उनीहरुको पोषणस्थितीमा सुधार ल्याउने गरिएको उनले बताए ।





