बैतडी - बैतडीमा केही दिनदेखि परेको अविरल वर्षा र त्यससँगै आएको तीव्र हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको मकैबालीमा ठूलो क्षति पुगेको छ।
जिल्लाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैमा क्षति पुगेपछि किसानहरू खाद्य संकटको जोखिमलाई लिएर चिन्तित बनेका छन्। जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका , पाटन क्षेत्रका केही स्थान तथा दशरथचन्द र मेलौली नगरपालिकाका धेरैजसो वडामा बर्षा र हावाहुरीले मकै बालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
खेतबारीमा भरखरै घोगा लाग्ने र फस्टाउने क्रममा रहेका मकैका बोटहरू हावाहुरीले ढालेर नष्ट पारे सुर्नया गाउँपालिका वडा नम्बर ३ का स्थानीय नारद भट्टले बताए । लगातारको अविरल वर्षाका कारण बैतडीको पुर्चौडी नगरपालिका ३ न्वादेउस्थित बल्टजे गाउँमा मकैबालीमा ठूलो क्षति पुगेको भने अन्य ठाउँमा सामान्य क्षेती भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख हरिदत्त जोशीले बताए ।
उक्त ठाउँमा अविरल वर्षापछि केही घरसमेत जोखिममा परेका छन्। वर्षा निरन्तर भइरहे थप क्षति हुन सक्ने सम्भावना रहेको स्थानीयले बताएका छन्। करिब १२ परिवार रहेको बल्टजे गाउँमा निरन्तरको वर्षाले खेतीबाली प्रभावित संगै केराखेती र विभिन्न फलफूलका बिरुवामा समेत क्षेती गरेको स्थानीय अर्जुन बोहराले बताए ।
कृषि ज्ञान केन्द्र बैतडीका अनुसार बैतडीमा करिब १४ हजार ५ सय हेक्टर क्षेत्रफलमा मकै खेती गरिँदै आएको छ।बैतडीलाई 'मकै जोन' का रूपमा समेत हेरिने गरिए पनि हरेक वर्ष हावाहुरी, प्राकृतिक प्रकोप, फौजी किरा र जंगली जनावरका कारण मकै उत्पादनमा निरन्तर ह्रास आइरहेको छ।





