बैतडी - बैतडीमा मध्यरातमा घर भत्किदा पशुचौपायाको क्षति भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ५ औँला कोहलपुर टोल स्थित केशव राम कोलीको कच्ची घर गएराती करिब १ : ३० बजे एक्कासि भत्किएपछि सामान्य क्षति भएको तर मानवीय क्षेती भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घर भत्किँदा एक बाख्राको घटनास्थलमै मृत्यु भएको छ भने एउटा गाईको बाछाको खुट्टा भाँचिएको छ। अन्य केही गाईबाख्रालाई समेत सामान्य चोटपटक लागेको बताइएको छ । प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ । घटनाको जानकारी बिहान करिब ६ बजे प्राप्त हुनासाथ थालिगडा प्रहरी चौकीका इन्चार्जसहित प्रहरी टोली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीको उद्धार टोली तथा स्थानीय जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए।
घटना स्थल जाचबुझ गर्दा मध्यरातमा घर भत्किए पनि मानवीय क्षति भने नभएको बताइएको छ । प्रहरीलाई सूचना प्राप्त हुनासाथ उद्धार टोलि घटना स्थलमा पुगेर घरभित्र रहेका परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको दशरथचन्द नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केशब राज लेखकले बताए।
प्रहरीका अनुसार केही दिनयताको लगातार वर्षा, कमजोर संरचना र जमिन भिजेका कारण घर भत्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि घटनाको विस्तृत कारणबारे अध्ययन गरिने जनाएको छ । घटनापछि आवश्यक राहत तथा पुनःस्थापनाका लागि स्थानीय सरकारबाट पहल भइरहेको स्रोतमा उल्लेख गरिएको छ ।





