Sagun Khabar
बैतडीमा पूर्ण स्तनपान गराउने आमा ७६ प्रतिशत 

बैतडी–बैतडीमा ७६ प्रतिशत आमाले मात्रै पूर्ण स्तनपान गराउने गरेको तथ्यांक रहेको छ । बच्चा जन्मेदेखि ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनुपर्ने भएपनि २४ प्रतिशतले अझै पूर्ण स्तनपान नगराएको तथ्यांक रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।  

बच्चा जन्मदेखि ६ महिनाको अवधिसम्म आमाको दुधमात्रै सेवन गराउने कार्यलाई पूर्ण स्तनपान भन्ने गरिन्छ । आमाको दुधमा बच्चाका लागि आवश्यक सबै पोषक तत्वहरु पाइने भएकाले ६ महिनासम्म उसलाई आमाको दुधबाहेक अन्य खानेकुरा खुवाउन नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । पानी समेत आमाकै दुधमा पाइने भएकाले जन्मेदेखि ६ महिनासम्म आमाकै दुध खुवाउनुपर्ने सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

बैतडीमा गएको आर्थिक बर्षमा ३ हजार ५ सय ४० जना आमाले बच्चा जन्माएकोमा २ हजार ६ सय ९१ जनाले पूर्ण स्तनपान गराएको तथ्यांक रहेको सूचना अधिकारी कार्कीले बताए । ८ सय ४९ जना आमाले बच्चालाई जन्मेदेखि ६ महिनाको अवधिमा आमाको दुध बाहेक अन्य कुरा समेत खुवाएको पाइएको उनले बताए । 

दशरथचन्द नगरपालिकामा ३ सय ५२ जनाले बच्चा जन्माएकोमा ३ सय १७ जनाले पूर्ण स्तनपान गराएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै पाटन नगरपालिकामा ४ सय आमामध्ये ३ सय १ जनाले पूर्ण स्तनपान गराएको तथ्यांक छ भने पुर्चौंडी नगरपालिकामा ४ सय ९५ जना आमामध्ये ३ सय ८४ जनाले पूर्ण स्तनपान गराएको सूचना अधिकारी कार्कीले बताए । यस्तै मेलौली नगरपालिकामा ३ सय ९१ जना आमामध्ये २ सय १२ जनाले मात्रै पूर्ण स्तनपान गराएको तथ्यांक छ । 

डिलाशैनी गाउँपालिकामा ३ सय ५ जना आमामध्ये २ सय ३४, दोगडाकेदार गाउँपालिकामा ३ सय २० जनामध्ये २ सय ४९, सुर्नया गाउँपालिकामा ३ सय १ जनामध्ये २ सय ३२, पञ्चेश्वर गाउँपालिकामा ३ सय ४ जनामध्ये २ सय ४६, शिवनाथ गाउँपालिकामा ३ सय १० जनामध्ये २ सय ५४ जना र सिगास गाउँपालिकामा ३ सय ६२ जनामध्ये २ सय ६२ जना आमाले पूर्ण स्तनपान गराएको तथ्यांक रहेको छ । 

पूर्ण स्तनपान बालबालिकाहरुका लागि निकै महत्वपूर्ण भएकाले पूर्ण स्तनपानका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु जारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

हरेक बर्ष अगस्ट १ देखि ७ तारिखसम्म पूर्ण स्तनपान सप्ताह मनाउने गरिन्छ । बच्चाका लागि आमाको दुधको महत्वका बारेमा जनचेतना फैलाउन पूर्ण स्तनपान सप्ताह मनाउने गरिएको भट्टले बताए । 

बच्चा जन्मेको एक घण्टाभित्रै आमाको बिगौती दुध र ६ महिना सम्म आमाको दुधमात्रै खुवाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । बच्चाको वृद्धि र विकासमा आमाको दुध अमृत समान भएकाले ६ महिनासम्म आमाको दुधमात्रै खुवाउनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशीले बताए । ६ महिनापछि मात्रै बच्चाहरुलाई पूरक खाना खुवाउनुपर्ने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update