Sagun Khabar
बैतडीको भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी 

बैतडी–बैतडीको पाटनस्थित भिमदत्त बहुप्राविधिक शिक्षालयमा तालाबन्दी गरिएको छ । करार, ज्यालादारी र मासिक कर्मचारीहरुले मंगलबार दिउँसो साढे १ बजेको समयमा शिक्षालयको प्रशासन तथा लेखा फाँटमा तालाबन्दी गरेका हुन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभीटी) अन्तर्गत देशभरका ६७ ओटा शिक्षालयमा कार्यरत करार,ज्यालादारी र मासिक कर्मचारीहरु आन्दोलित भएका हुन् । सोही आन्दोलनको कार्यक्रम अनुसार पाटनस्थित शिक्षालयमा पनि तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक एवं शिक्षालयका सूचना अधिकारी महेशराज भट्टले बताए । 

शिक्षालयमा कार्यरत करार, ज्यालादारी र मासिक कर्मचारीहरुको सेवा सुविधामा कटौती गरेको, कतिपय ठाउँमा सम्झौता नवीकरण नगरेको, स्थानीय भत्ता कटौती गरेका कारण आन्दोलनमा उत्रिनुपरेको भट्टले बताए । 

लामो समयदेखि विभिन्न शिक्षालयमा कार्यरत कर्मचारीहरुलाई बेवास्ता गरेका कारण आन्दोलनमा उत्रिनुपरेको भट्टले बताए । आफूहरुका माग सम्बोधन गर्नुको सट्टा मागप्रति बेवास्ता गरेकाले तालाबन्दी गरिएको उनले बताए । 

पाटनस्थित शिक्षालयमा २० जना भन्दी बढी करार, ज्यालादारी र मासिक कर्मचारी कार्यरत रहेका छन् । सामाजिक सुरक्षा तथा सेवा सुनिश्चितताको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेर आफूहरुमा आन्दोलनमा उत्रेको कर्मचारीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update