बैतडी–बैतडीको पाटन नगरपालिका–४ जेउडेस्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण गरिएको छ ।
पाटन नगरपालिका–४ खोल्सी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका जय नेपाल इन्टरनेश्नल फाउण्डेसन नर्थ क्यारोलिना राज्य समितिका अध्यक्ष वासुदेव भट्टले ५६ हजार बराबरको खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेका हुन् ।
उनले विद्यालयमै पुगेर खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेको स्थानीय समेत रहेका उपप्राध्यापक मानबहादुर चन्दले बताए । उक्त विद्यालयमा अध्ययनरत ४२ जना दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।
पछिल्लो समयमा मसानी दलित आधारभूत विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको उपप्राध्यापक चन्दले बताए । अधिकांश दलित समुदायका बालबालिकाहरु अध्ययनरत रहेको उक्त विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको उनले बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले विद्यालयमा खेल तथा शैक्षिक सामग्री वितरण गरेको भट्टले बताए । जन्मभूमीमा आएको बेला विद्यार्थी तथा विद्यालयलाई सहयोग होस् भनेर सामग्री वितरण गरिएको उनको भनाइ छ ।




