कञ्चनपुर –कञ्चनपुरमा कटुवा पेस्तोलसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भीमदत्त नगरपालिका–१८ सालघारीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का २० बर्षीय पारस रोकाया, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का १८ बर्षीय किशोर, सोही ठाउँका २० बर्षीय नितेश सिंह र भीमदत्त नगरपालिका–६ का २० बर्षीय राजेन्द्रसिंह गोयला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शङ्कास्पद अवस्थामा सोधपुछ तथा चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूको मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला परेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानका क्रममा १८ बर्षीय किशोरले डेरा गरी बस्दै आएको कोठामा रीतपूर्वक खानतलासी गर्दा लुकाइछिपाइ राखेको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पेस्तोलसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।




