बैतडी - जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक भोजराज भट्ट ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषित हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले साउन महिनामा उच्च कर्तव्यनिष्ठा, लगनशीलता, सक्रियता तथा व्यावसायिक दक्षता प्रदर्शन गरेको भन्दै प्रहरी निरीक्षक भट्टलाई ‘साउन महिनाको उत्कृष्ट प्रहरी’का रूपमा छनोट गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक भट्टले साउन महिनामा २० जना फरार प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।
उहाँको सक्रियतामा फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ कार्यलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनमा योगदान पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताउनुभयो । कानुनको शासन कायम गर्न तथा संगठनको गरिमा र श्रीवृद्धिका लागि पुर्याएको योगदानको उच्च कदर गर्दै उहाँलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको प्रमुख प्रहरी नायब उपरीक्षक रायले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले प्रहरी कर्मचारीको कार्यसम्पादन, कर्तव्यनिष्ठा, सक्रियता र व्यावसायिक दक्षताका आधारमा प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ । फरार प्रतिवादी पक्राउ तथा अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक भट्टलाई उत्कृष्ट प्रहरी घोषणा गरिनुलाई जिल्लाको शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा प्रहरीको उच्च सक्रियताको रूपमा हेरिएको छ ।




