बैतडी–बैतडीको पाटन नगरपालिका–३ स्थित गुजर माध्यमिक विद्यालयको नाम परिवर्तन गरेर वनारसी माध्यमिक विद्यालय राखिएको छ ।
२०११ सालमा स्थापना भएको उक्त विद्यालयको नाम हालसालै परिवर्तन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह बिष्टले बताए । विद्यालय क्षेत्रभित्रका अभिभावकहरु र अन्य सरोकारवालाहरुको सुझाव अनुसार विद्यालयको नाम परिवर्तन गरिएको उनले बताए । यसअघि ठाउँको नामबाट विद्यालयको नाम राखिएकाले त्यसलाई परिवर्तन गरेर वनारसी माध्यमिक विद्यालय राखिएको अध्यक्ष बिष्टले बताए ।
अभिभावकहरुको भेलाबाट विद्यालयको नाम परिवर्तन गर्ने सर्वसम्मत निर्णय पारित गरेपछि नगरपालिकाको शिक्षा शाखामा उक्त निर्णय बुझाइएको थियो । अभिभावक भेलाको निर्णय अनुसार नगरपालिकाको कार्यपालिका बैठकले नाम परिवर्तन गर्ने निर्णय गरेपछि विद्यालयको नाम परिवर्तन गरिएको हो ।
पाटन नगरपालिका–३ स्थित प्रसिद्ध वनारसी धामको नामबाट विद्यालयको नाम राख्ने सबैको सहमति र सुझाव अनुसार विद्यालयको नाम परिवर्तन गरेको अध्यक्ष बिष्टले बताए ।
कक्षा १० सम्मको पढाइ हुने वनारसी माध्यमिक विद्यालयमा २ सय बढी विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक मदनराज अवस्थीले बताए । उक्त विद्यालयमा पाटन नगरपालिका ३, ४ र सुर्नया गाउँपालिका–५ का केही स्थानका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।
विद्यालयको शैक्षिक वातावरणलाई समयानुकुल सुधारका लागि आफूहरुले पहल गरिरहेको अध्यक्ष बिष्टले बताए ।




